काठमाडौं । पालिकालाई भन्दा वडाको चुनावलाई बढी महत्व लिँदा सत्तारुढ दल नेपाली कांग्रेसले महत्वपूर्ण पालिका गुमाएको छ ।
आइतबार भएको स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४१ पदमध्ये प्रमुख ८ पदका लागि उपनिर्वाचन भएको थियो । ८ मध्ये गत निर्वाचनमा कांग्रेसले ६ पद जितेको थियो । तर,ती ६ पदमध्ये हालसम्म मत गणना सकिएको ४ स्थानमा सबै पद गुमाएको छ ।
कांग्रेसले हालसम्म मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष गुमाउँदा जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर र बाजुराको स्वामीकात्तिक खापर गाउँपालिकाको उपाध्यक्ष गुमाएको छ । महाबु र स्वामीकात्तिक खापर एमालेले जित्दा ग्रामथान र नलगाड प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले जितेको छ ।
ग्रामथानमा माओवादीका नमोनारायण माझी, नलगाडमा देवकी लामिछाने तथा महाबुमा एमालेका जंगबहादुर शाही र स्वामीकात्तिक खापरमा शुलोचनाकुमारी भण्डारी बुढा निर्वाचित भएका छन् ।