Logo

बजेट अभाबमा कर्णाली प्रदेशका संघीय खानेपानी आयोजनाका कुनै पनि योजनाहरु रोकिने छैनन्ः मन्त्री यादव



वीरेन्द्रनगर, १७ मङ्सिर । खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा डिपिआर, सहितका अन्य सबै प्रक्रिया पुरा गरेर बजेट अभाबको कारण देखाई काम हुन नसकेका संघीय खानेपानी आयोजना अन्तरगतका योजनाहरुमा अब बजेट अभाव नहुँने बताएका छन् ।

आज कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतको ग्रामीण खानेपानी सेवा सहायता केन्द्र “सेवा सहायता केन्द्र” शुभारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

“म यहाँका जनप्रतिनिधी, स्थानीयवासीहरुलाई बिश्वास दिलाउन चाहन्छु, संघीय सरकार खानेपानी मन्त्रालयबाट कर्णाली प्रदेशमा सञ्चालन भइरहेका र बजेट नभएर रोकिएका डिपिआर भएका कुनै पनि योजनाहरु पैसा अभावमा रोकिने छैन,” उनले भने, “बजेट रकमान्तर गरेर भएपनि म यहाँका योजनाहरुको टेण्डर आह्वान गर्छु, म कर्णालीवासीका सुख दुस्खमा साथ दिने छु ।”

यसैगरी मन्त्री यादवले कर्णाली प्रदेश सहितका बिकट क्षेत्रका आम नेपाली नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाईमा पहुँच पुर्‍याउन आफु लागि परेको बताए। उनले भने, “कर्णाली प्रदेशका अधिकास क्षेत्रहरु विकासको नाममा निकै बकट रहेका छन्, यहाँ खानेपानीको क्षेत्रमा जम्मा चार प्रतिसतले मात्रै शुद्ध खानेपानी पाइरहेका र ९६ प्रतिसतले अहिले सम्म पनि अशुद्ध पानी खान बाध्य भएकाले म त्यसको अन्त गर्न लागिपरेको छु ।”

मन्त्री यादवले स्वच्छ खानेपानी सहितको एक घर एक धाराको अवधारणालाई अघि सारेर आफुले काम अगाडि बढाई अग्रपङ्क्तिमा काम सञ्चालन गरीरहेको जानकारी दिए। उनले भने, “जलस्रोतको धनी देश नेपालमा सबै नागरिकले श्वच्छ खानेपानी पिउन पाउनु पर्छ भन्ने मान्यतालाई अगाडि सारेर म काम गरीरहेको छु, दुर्गम क्षेत्रका आम नागरिकलाई श्वच्छ एवं शुद्ध पानी दिनु मेरो प्रमुख लक्ष हो ।”



प्रतिक्रिया दिनुहोस्