काठमाडौं, १८ मंसिर । सहकारी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आज विहान काठमाडौंबाट चितवन लगिएको छ ।
गत कार्तिक २ गते पक्राउ परेका लामिछानेलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम ठगीमा संलग्न रहेको अभियोगमा बयानका लागि काठमाडौं ल्याइएको थियो । काठमाडौंमा बयान सकेर उनलाई सहारा चितवन सहकारी ठगीमा बयानका लागि चितवन लगिएको हो ।
चितवनमा लामिछानेको बयान आजबाटै सुरु हुने बताइएको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी ठगीमा समेत बयान तथा अनुसन्धान भइसकेको छ । File Photo/RN