Logo

रवि पुर्पक्षका लागि थुनामा जाँदा रास्वपाले कार्यवाहक सभापति पाउने, स्वर्णिम र डीपीबीच सहमति



काठमाडौं, १८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र कार्यवाहक सभापतिको बारेमा अभ्यास सुरु भएको छ । पार्टी सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण अभियोगमा प्रहरी हिरासतमा छन् । लामिछानेको बयान सकेर केही दिनभित्रै उनलाई अदालतमा पेश गरिने तयारी रहेको छ ।

रास्वपा बृत्तमा भने सभापति लामिछानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउनसक्ने गाँइगुईँ सुरु भएको छ । यदि अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको खण्डमा कार्यवाहक सभापति को बन्ने भन्नेबारेमा पार्टी उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णीम वाग्लेबीच छलफल भई सहमति जुटिसकेको छ ।

रास्वपाका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीका अनुसार उपसभापति वाग्लेले अर्याललाई कार्यवाहक सभापतिको प्रस्ताव गरेका थिए । अर्यालले वाग्लेको प्रस्ताव सहर्ष स्वीकार गरेको र घोषणा हुनमात्रै बाँकी रहेको पराजुलीले बताए ।

दोषी प्रमाणित नभएसम्म रास्वपाको सभापति लामिछाने नै रहने र यदि अदालतले पूर्पक्षका लागि थुनामा पठाएको खण्डमा डीपी अर्याललाई कार्यवाहक बनाएर कार्यसम्पादन अगाडि बढाइने उनले बताए ।

‘जबसम्म उहाँ दोषी प्रमाणित हुनुहुन्न, तबसम्म उहाँ निर्विकल्प राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति हो । स्वर्णिम दाईले डीपीजीलाई प्रस्ताव गरिवरी तय भइसकेको कुरा हो । शिर्फ हामीले घोषणा नगरेको कुरा हो । त्यो घोषणा गर्नका लागि कानुनी प्रक्रियाले कस्तो रुप लिन्छ ? त्यसपछि हामी कुरा गरौंला,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।



प्रतिक्रिया दिनुहोस्