काठमाडौं, १८ मंसिर । व्यवसायी मिनबहादुर गुरुङले नेकपा (एमाले) लाई दान दिएको जग्गाको विरुद्धमा परेको रिटमा सुनुवाइको लागि पेशी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेको इजलासमा पेशी तोकिएको उक्त मुद्दामा सुनुवाइको सम्भावना भने न्यून छ ।
उक्त मुद्दा यसअघि पनि पटक–पटक हेर्न नभ्याउनेमा परेको थियो । व्यवसायी गुरूङ दम्पतीले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन जग्गा दान दिएपछि अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए।
गुरुङ दम्पत्तीले दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन्।
भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट घुसवाफत जग्गा दान लिएको रिट निवेदकको दाबी छ ।