काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसले नराम्रोसँग पराजय ब्यहोरेको छ । वडागत रुमा पहिलो स्थानमा रहेपनि पालिकाको नेतृत्वमा भने कांग्रेस कीर्तिपुरको मेयरमा सीमित भएको छ ।
०७९ सालको स्थानीय तह निर्वाचनमा जितेका २ गाउँपालिका अध्यक्ष, २ उपाध्यक्ष र एक नगरपालिकाको उपमेयर यसपटक कांग्रेसले गुमाएको छ । कांग्रेसले गत चुनावमा जितेको काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर जित्न सफल भएपनि महाबु र ग्रामथानको अध्यक्ष, नलगाडको उपमेयर तथा स्वामीकात्तिक खापर र गौरिशंकरको उपाध्यक्ष गुमाएको छ ।
कांग्रेसले अघिल्लो पटक जितेको गौरिशंकर महाबु र स्वामीकात्तिक खापरमा यसपटक नेकपा एमालेले जितको झण्डा गाड्दा ग्रामथान र नलगाड माओवादी केन्द्रले खोसेको छ । कांग्रेसले एउटा नगरपालिकाको मेयर, १६ वटा वडामा जित हासिल गरेपनि उसले यसअघिको आफ्नो सिट जोगाउन सकेन । उपनिर्वाचन भएका स्थानमध्ये २६ पद कांग्रसकै रिक्त थियो ।
कांग्रेस यसपटक कीर्तिपुर र केही सीमित वडामा मात्रै रुमलिएको र पार्टीभित्र आन्तरिक किचलोमा फसेको देखिन्छ । काठमाडौंलाई विशेष जोड दिँदा महत्वपूर्ण ५ पदाधिकारी गुमाएको कांग्रेसले उपनिर्वाचनको नतिजालाई भने सहज मानेको छ । उपनिर्वाचनको लागि कांग्रेसले खटाएको चुनावी कमाण्डर विश्वप्रकाश शर्माले संख्याका आधारमा जित र हारलाई हेर्न नहुने बताएका छन् ।
शर्मा उपनिर्वाचनले दिएको सन्देशबारे समीक्षा गर्ने बताएका छन्। उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मत मार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा हामी गर्नेछौँ नै, प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’लाई हामीले सन्तोषजनक एवं उत्साहवर्धक संकेतका रूपमा लिएका छौँ ।’
उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र ऐक्यबद्धता फेरि एक पटक बलियो रूपमा प्रदर्शित भएको भएको उल्लेख गरे। मूलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणाली मार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी रहेको बताए।
विज्ञप्तिमा भनिएको छ, ‘रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । समग्रमा यो ४३।१८ प्रतिशत हो । ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थान भन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनैतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण छ ।’
०७९ मा विजय पाएको केही स्थान गुमाएको भए पनि त्यसबेला अन्य दलले जितेका केही स्थानमा विजय हासिल गरेको बताए। लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्त्वपूर्ण रहने निष्कर्ष निकालेको बताए।
विज्ञप्तिमा भनिएको छ, ‘उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखियो । गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको छ । निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काम मार्फत विश्वास जगाउन र सामाजिक सञ्जाल मार्फतका भ्रमहरू चिर्न पार्टी पङ्क्तिको विशेष सतर्कता र क्रियाशीलता जरुरी देखिएको छ । यो उपनिर्वाचनमा सामाजिक सञ्जाल मार्फत सक्रिय भूमिका निभाउने युवा पङ्क्तिलाई पार्टी सम्मान गर्दछ ।’
चुनावी दौड सकिएकाले अब अब सबै तितानमिठा भुलेर काममा जुट्न आग्रह गरेका छन्।