काठमाडौं, १८ मंसिर । संघीय संसद सचिवालयले जनमत पार्टीकी समानुपातिक सांसद गोमालाभ सापकोटालाई कारबाही गर्नेबारेमा जातजाति, वर्ण, रंग, लिङ्ग, समुदाय, भाषा, धर्म, शारीरिक अवस्थालगायतका कुनैपनि आधारमा विभेद नभएको बताएको छ । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. सिके राउतले पार्टीले कारबाही सिफारिश गरेको सांसदलाई कारबाही नगरेकोको भन्दै सभामुख देवराज घिमिरेको राजीनामा माग गरेका थिए । सभामुख घिमिरेको नातेदार र समूदायको मान्छे भएकाले गोमालाभलाई कारबाही नगरिएको जनमतको जिकिर थियो ।
जनमतको जिकिरको खण्डन गर्दै संसद् सचिवालयले भनेको छ, ‘प्रतिनिधिसभा सदस्य माननीय गोमा लाभ (सापकोटा) का सम्बन्धमा जनमत पार्टीबाट जारी भएको प्रेस विज्ञप्तिप्रति संघीय संसद सचिवालयको ध्यानाकर्षण भएको छ। संघीय संसद सचिवालयबाट कुनैपनि जातजाति, वर्ण, रंग, लिङ्ग, समुदाय, भाषा, धर्म तथा शारीरिक अवस्था लगायतका कुनैपनि आधारमा विभेद नभएको र नहुने कुरा स्पष्ट पार्न चाहन्छौं। जनमत पार्टीबाट समानुपातिक सदस्यमा निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय गोमा लाभ (सापकोटा) लाई पार्टीको विधान बमोजिम कारवाही गरी साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको भनी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) बमोजिमको प्रक्रिया अगाडि बढाइदिन संघीय संसदको महासचिवलाई सम्बोधन गरी पत्र लेखी आएपछि संघीय संसद सचिवालयले सो विषयमा नेपालको संविधान र सम्वन्धित कानूनहरु (प्रतिनिधि सभा नियमावली, २०७९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३) का प्रावधानहरुको व्यवस्था बमोजिम निर्णयार्थ पेश गरेको र सम्माननीय सभामुखले कानून बमोजिम निर्णय गर्नुभएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।’