Logo

एमालेको दाने जग्गाको मुद्दा सर्वोच्चले आज पनि हेर्न भ्याएन



काठमाडौं, १८ मंसिर । व्यवसायी मीनबहादुर गुरूङले नेकपा (एमाले) लाई दान दिएको जग्गाका सन्दर्भमा परेको रिटको सुनुवाइ आज पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको उक्त मुद्दा अन्ततः आज पनि हेर्न नभ्याइनेमा परेको हो ।

उक्त मुद्दा आज सातौं पटक सुनुवाइका लागि पेशी चढेको थियो । पटक–पटक यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको छ ।व्यवसायी गुरूङ दम्पतीले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन सो जग्गा दान दिएपछि अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । एमालेले भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट घुसवाफत जग्गा दान लिएको रिट निवेदकको दाबी थियो ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका बनाउनका लागि १० रोपनी १४ आना जग्गा असोज २५ गते दिएका थिए ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही दिन पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्याससमेत गरिसकेका थिए । सो मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ ।



प्रतिक्रिया दिनुहोस्