काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद गोमालाभ सापकोटाको बारेमा जनमत पार्टीले निकालेको विज्ञप्तिको भत्र्सना गरेका छन् । गम्भीर आरोप लगाउँदै जनमत पार्टीले विज्ञप्ति निकालेपछि घिमिरेले आफ्नो सचिवालयमार्फत विज्ञप्तिको खण्डन गरेका हुन् ।
गोमालाभलाई सांसदबाट हटाउन जनमतले सभामुखलाई पत्र लेखेको थियो । तर,सभामुखले आवश्यक कागजात नपुगेको भन्दै हटाउन नमानेपछि सोमबार गम्भीर आरोप लगाउँदै जनमतले विज्ञप्ति जारी गरेको थियो । जनमतले विज्ञप्तिमा सांसद सापकोटा सभामुखको नातेदार भएको आरोप लगाएको थियो । मंगलबार साँझ सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारील्े विज्ञप्ति जारी गर्दै सभामुख र सापकोटाबीचको नाता छुट्याउन जनमत पार्टीका अध्यक्ष सीके राउतलाई चुनौती दिएका छन् ।
‘जनमत पार्टीलाई ‘माननीय सापकोटा सम्माननीय सभामुखको नातेदार भएको’ भन्ने आरोप पुष्टि गर्न चुनौती दिन चाहन्छु’, सभामुखको सचिवालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।
सभामुख घिमिरेले नेपालको संविधान, प्रतिनिधि सभा नियमावली, २०७९ र राजनीतिक दलसम्बन्धी ऐन, २९७३ को प्रावधानबमोजिम नै निर्णय गरेको उल्लेख गर्दै जनमतको आरोपबारे गम्भीर ध्यानाकर्षण भएको सभामुखका प्रेस सल्लाहकार शेखर कोइरालाद्वारा विज्ञप्तिमा जनाइएको छ ।
जनमतले जारी गरेको विज्ञप्तिमा प्रयोग भएका शब्द र भाषा अत्यन्तै निन्दनीय, मिथ्या र भ्रमणपूर्ण रहेको सचिवालयले जनाएको छ ।