Logo

बीआरआईमा महत्वपूर्ण सहमति हुनसक्ने पूर्व परराष्ट्रमन्त्रीको संकेत



काठमाडौं, १९ मंसिर । नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा अहिले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजना अनुदानमा नलिने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीको यस पटकको भ्रमणमा ऋण नलिइएको भएपनि यसको च्याप्टर क्लोज भने नभएको बताए । अहिले कुनै पनि प्रोजेक्ट तयारी अवस्थामा नरहेकाले बीआरआईको ऋण लिन नसकिएको उनले बताए ।

‘बीआरआई भनेको अनुदान हो भन्ने खालको बुझाइ आफैंमा गलत भयो । हामीले अहिले यही भ्रमणमा कुनै परियोजना विशेषलाई लिएर ऋण लिँदैनौं । हामीले बीआरआईअन्तर्गतका ९ वटा परियोजनाहरु छनोट गरेका छौं । ती ९ वटा परियोजनाहरुको काम तत्काल सुरु गर्ने चरणमा हामी पुगिसकेका छैनौं ।’ उनले भने, ‘केरुङ–काठमाडौं रेलको बारेमा चीनले पूर्व सम्भाव्यता अध्ययन गर्यो । अहिले त्यो सम्भाव्यता अध्ययन चलिरहेको छ । चिनियाँ टोली अहिले नुवाकोटमा छ । त्यो सम्भाव्यता सकिन अझैं एक वर्ष लाग्छ । टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन सकिएको छ । सम्भव त चीनले त्यसमा अनुदान दिन्छ होला ।’

साथै, बीआरआई प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच हस्ताक्षर हुने परियोजना नरहेको उनले बताए । बीआरआईको सम्बन्धमा प्रधानमन्त्री ओलीको यही भ्रमणमा महत्वपूर्ण सहमति हुनसक्ने उनले संकेत गरे । ‘बीआरआई दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गर्ने डकुमेन्ट होईन । त्यो सरकारका प्रतिनिधिहरु, विभिन्न लेभलमा हुनसक्छ, राजदूत, परराष्ट्र सचिवको लेभलमा पनि हुनुसक्छ । ती सम्भावनाहरु अहिले पनि कायमै छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्