काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले चिनियाँ सरकार खुसी नभएको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले निकै उत्साहित भएर बोकेर गएको १२/१३ वटा लिस्ट चिनियाँ पक्षले हेर्न नै चाहेको बताए ।
‘जुन उत्साहका साथ १२/१३ वटा लिस्ट बनाएर ओलीजीले बोकेर जानुभएको थियो, त्यसअन्तर्गत हेर्ने हो भने चिनियाँहरुले उनीहरुको बेखुसीपना देखाए । तपाईँहरु आइहाल्नुभयो, तपाईँहरुले भनेको कुराहरु चाहीँ हुँदैनन् । तर, यी कुराहरु राख्न सकिन्छ भने,’– उनले भने ।
साथै, चिनियाँहरुले ओली नेतृत्वको सरकारलाई भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई बढी विश्वास गरेको नेता खड्काको भनाइ छ । वर्तमान सरकारले बेल्ट एण्ड रोड इनिसिएटिभ्सको नाम नै सुन्न नचाहेको भान चीन सरकारलाई परेको उनले बताए । ‘चिनियाँहरुको ठम्याईँ के छ भने माओवादी हुँदाखेरी उनीहरुले कार्यान्वयनलाई एउटा लेबलमा पुर्याइसकेका थिए । अहिले यो सरकारले बीआरआईको नाम सुन्न नचाहने हो कि ? भन्ने छ,’– उनले भने ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान, नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान, फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल, विकास योजना सम्बन्धी समझदारी पत्र, आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र, नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।