काठमाडौं, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज शेर्पालीले सही गन्तव्यमा पुग्न विगतका गल्ती, कमिकमजोरीलाई निर्ममताका साथ समीक्षा गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।
साथै, नेता शेर्पालीले २०६४ को संविधान सभाको निर्वाचनदेखि गत मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनसम्म माओवादी र माओवादीका उम्मेदवारलाई मतदान गर्ने मतदाता र उनीहरुको सन्ततिको ताजा अवस्था खोजी गरी गम्भीर आत्मालोचनाका साथ अगाडि बढ्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । उनले आत्मालोचनाका साथ आगामी कार्ययोजनामा केन्द्रीत हुनु माओवादी केन्द्रको मुख्य जिम्मेवारी बनेको बताएका छन् ।
जनताको आशा र अपेक्षा पूरा गर्ने र उचित परिणाम निकाल्ने सम्भावना माओवादी केन्द्रमा नै रहेको दाबी गर्दैै उनले अब सबै जनता जनताबाट अनुमोदित सुशासन स्थापित गर्ने अभियानमा लाग्नुपर्ने बताएका छन् । नेता शेर्पालीले माओवादीले सरकारमा हुँदामात्रै नभएर प्रमुख प्रतिपक्षमा रहेको बेलामा पनि सुशासनको पक्षमा आवाज बुलन्द पार्नुपर्ने बताएका छन् । साथै, सिङ्गो माओवादी आन्दोलन पुरानै धारमा सुदृढ हुने सुनौलो अवसर आएको पनि उनले बताएका छन् ।
‘जनताले अनुमोदन गरेको सुशासन स्थापित गर्ने अभियान सरकारमा हुँदामात्र होइन, प्रमुख प्रतिपक्षीको भूमिकामा हुँदा पनि निरन्तरता दिउँ । सिङ्गो माओवादी आन्दोलन नै पुरानै धारमा सुदृढ हुने सुनौलो अवसर हाम्रो सामू छ । हाम्रो निष्ठा र व्यवहारबीच देखिएको एक होइन, तमाम गल्ती कमजोरीहरू निर्मम बनेर समिक्षा गरौं । जसले सही गन्तव्य पुग्न नयाँ मार्गदर्शन दिन सकोस्,’– उनले भने ।