काठमाडौं, १९ मंसिर । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपाका कार्यकर्ता र समर्थकहरुले जिल्ला प्रहरी कार्यालय अगागि प्रदर्शन गर्दा स्थिति तनावग्रस्त बनेको हो । रास्वपा समर्थकहरुले निषेधित घेरा तोडेपछि प्रहरीले बल प्रयोगसमेत गरेको थियो ।
रास्वपाका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणको अभियोगमा रास्वपा सभापति लामिछाने गत कार्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।
संयमता अपनाउँदा अपनाउँदै प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेकाले प्रतिरक्षाको लागि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले हानेको ढंगाले लागेर २० जनाभन्दा बढी प्रहरी घाइते भएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहरा अश्रुग्यास प्रहरा गरेको थियो ।
प्रदर्शनकारीतर्फ पनि १० जनाभन्दा बढी घाइते भएको बताइएको छ । चितवनको सहारा सहकारी ठगीमा पनि संलग्नता देखिएको भन्दै लामिछानेलाई हिजो त्यहाँ लगिएको थियो । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीलगायतको सहकारी ठगीमा लामिछानेको संलग्नता देखिएको भन्दै त्यहाँ उनको बयान भइसकेको छ ।