काठमाडौ, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् । गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
जनयुद्धको उत्कर्षमा पार्टीले गरेको विश्लेषण सुनाउदै अध्यक्ष प्रचण्डले भने, ‘उतिबेला हामीले भनेका थियौं, अब देश गणतन्त्रमा त जान्छ जान्छ तर यसलाई प्रतिक्रियावादीहरुले आफूले चाहेजस्तो बनाउन खोजेका खोज्ने छन् । हामी हामीले चाहेजस्तो बनाउन खोज्ने छौं, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेका थियौं, त्यो विन्दु अब नजिक आएको छ ।’
उनले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताए । लाखौं लाख जनता सडकमा लिएर हिजो संविधान लेखनको क्रममा फरक मतको छाडेका मुद्दा अघि बढाइने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूर्णता दिइने उनले बताए ।
नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको बताए ।
नेपालमा जनताले दस वर्षे जनयुद्ध नगरेको भए गणतन्त्र स्थापनाको कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै उनले जनताको तर्फबाट यति धेरै सङ्गठित र व्यवस्थितरुपमा आजसम्म नेपालमा कुनै युद्ध नभएको पनि स्पष्ट पारे । उनले इतिहासको सम्मानका लागि नयाँ सस्कारको थालनी गरेकोमा आयोजकलाई धन्यवाद दिए । यस्तो कार्यक्रम राज्यले गर्ने परम्पराको पनि थालनी गर्नुपर्ने बताए ।
साथै, उनले आफूहरु निरन्तर प्रतिक्रियावादीहरु विरुद्ध लडाइमा रहेको बताए । उनले जनयुद्ध उत्कर्षमा पुग्दाको र अहिलेको परिस्थिति उस्तै रहेको पनि बताए । ‘हाम्रो लडाईँ टुङ्गिएको छैन, जारी नै छ । हामी जतिबेला जनयुद्धको उत्कर्षमा जाँदै थियौं, अहिले प्रमुख भनिएका पार्टीहरु नै सरकारमा थिए । हामी क्रान्ति, विद्रोहमा थियौं । उनीहरु सत्तापक्ष थिए, हामी विद्रोहीपक्षमा थियो । अहिले घुम्दैफिर्र्दै परिस्थिति त्यही दिशामा जाँदैछ,’– उनले भने ।