Logo

लोकेशको विष्फोटक ब्याटिङ: विराटनगरको शानदार जित, विशाल स्कोर बनाएको रोहितको लुम्बिनी हार्‍यो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित निकालेको छ । आज भएको खेलमा लुम्बिनी लायन्समाथि ३ विकेटको सनसनीपूर्ण जित निकाल्दै विराटनगरले पहिलो जित दर्ता गरेको हो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो । 

विराटनगरको जितमा ओपनर लोकेश बमले शानदार ब्याटिङ गरे । ४६ बलको सामना गरेका लोकेशले ६ चौका र ३ चौकाको मद्दतमा ७१ रन जोडे । बसिर अहमदले ४० रन थपेको खेलमा मार्टिन गप्टिलले २८ रन जोडे । क्रिस सोलले अन्तिम ४ बलमा अविजित १४ रन जोड्दा दिपक बोहोराले ११ रन थपे ।

लुम्बिनीका दुर्गेश गुप्ताले तीन विकेट झारे। साद विन जफर र रामोन सिमोन्डले समान दुई विकेट लिए। विवेक यादवले एक विकेट लिए।

त्यसअघि त्रिवि मैदानमा सुरुआतमा ब्याटिङ गरेको लुम्बिनीले विराटनगर किंग्सलाई १९२ रनको विशाल लक्ष्य दिएको थियो । त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकट गुमाएर १९१ रन जोडेको थियो ।

लुम्बिनीले प्रतियोगिताकै हालसम्मको उच्च योगफल खडा गरेको थियो ।यसअघि सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध नै १८२ रन बनाउँदै यो कीर्तिमान बनाएको थियो ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले २९ बलमा २ छक्का र चार चौका प्रहार गरेका थिए । बिराटनगरले खराब बलिङ गर्दै २९ अतिरिक्त रन खर्चिएको थियो जसमा १४ वाइड थिए ।

यस्तै इंग्लयाण्डका टम मुर्सले १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडे । विवेक यादवले ७ बलमा अविजित १९ रन बनाए । अर्जुन साउदले १७, आशुतोष घिरैया र साद विन सफरले समान १५ रन जोडे भने सन्दिप जोराले १२ रन बनाए । बेन कटिङ ६ रन बनाएर आउट भए । रामोन सिमोण्ड्स २ रनमा अविजित रहे ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, राजेश पुलामी मगर र इस्मात आलमले समान १ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्