काठमाडौं । गत आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनलाई लिएर सत्तारुढ दल नेकपा एमाले सुनसरीमा किचलो सुरु भएको छ । गत निर्वाचनमा जितेको गढी गाउँपालिका ६ को वडाध्यक्षमा शर्मानाक हार ब्यहोरेपछि नेताहरुबीच आरोप-प्रत्यारोप सुरु भएको हो । नेताहरुबीच आरोप-प्रत्यारोप चलिरहँदा गढी गाउँपालिका ६ का वडा कमिटी अध्यक्षसहित २१३ जनाले बुधबार सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेपछि विवाद सतहमा आएको हो ।
एमाले गढी गाउँपालिका ६ नं वडा कमिटीका अध्यक्ष चितनारायण खेरवारले बुधबार एक विज्ञप्ति जारी गर्दै सुनसरी ३ बाट निर्वाचित संघीय सांसद भगवती चौधरीको हैकमबादी प्रवृत्ति र कोशी प्रदेश सभा सदस्य रामदेव यादव र चौधरीको कारण वडामा पराजय ब्यहोरेको भन्दै सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।
एमालेले उपनिर्वाचनमा सन्तु उराँवलाई उम्मेदवार बनाएको थियो, भने प्रतिनिधि सभा सदस्य तथा केन्द्रिय सदस्यसमेत रहेकी पूर्वमन्त्री चौधरीलाई निर्वाचन परिचालन मूल समितिको संयोजक बनाईएको थियो । कोशी प्रदेशका सांसद रामदेव यादबलाई सह संयोजक तोकेको थियो । तर, सांसद चौधरीले हैकमबादी प्रवृत्ति देखाएको र यादवले नेपाली कांग्रेससँग पैसा खाएर एमालेलाई चुनाव हराएको खेरवारले आरोप लगाएका छन् ।
‘कमरेड रामदेव यादवले नेपाली काँग्रेसका तप्पन दाससँगको आर्थिक लेनदेनको हल्ला हात्तिमुडामा चल्नु र पालीका उपाध्यक्ष अनिता साहले जातीको आधारमा काँग्रेसका उमेदवारको पक्षमा भोट माग्दै हिँड्नु नै हाम्रो उमेदवारको पराजयको मुख्य कारण बनेको छ’ विज्ञप्तिमा भनिएको छ ‘यसर्थ निर्वाचनमा पार्टी भित्र नेतृत्व र कार्यकर्ताले गरेको अन्तर्घातको सत्य तथ्य पत्ता लगाउन जिल्ला पार्टीले निर्मम भएर छानबिन गर्ने नै छ । यस्तो परिस्थितिमा पार्टीको वडा कमिटीले यस क्षेत्रको सांसद भगवती चौधरीको हैकमबादी तथा सामन्ती दासत्व प्रवृत्ति स्वीकार्न असमर्थ छौं भन्ने ठहर गर्दै म पार्टी वडा कमिटी अध्यक्ष लगायत वडा कमिटीका कमरेडहरु, टोल कमिटीका कमरेडहरु लगायत पार्टी संगठित सदस्यहरू सहीत २१३ जनाले पार्टीको कुनै पनि जिम्मेवारीमा न रहने गरी आजै को मिति २०८१-०८-१९ गते बाट पार्टीको साधारण सदस्य समेत न रहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दछौ’ ।