काठमाडौं, ,२० मंसिर । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री चक्रपाणि खनालले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋण लिन नहुने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बीआरआईको ऋण लिन धेरै सोच्नुपर्ने बताएका हुन् । उनले नेपालजस्तो मुलुकले बीआरआईका परियोजना लिँदा अनुदानमै जोड दिनुपर्ने बताए ।
‘बीआरआई परियोजना नेपालका लागि मात्रै होईन । यो करिब–करिब विश्वभरी नै चीनको एउटा योजना हो । यो योजनाअन्तर्गत नेपालमा लगानी गर्दा यसका धेरै पक्षहरुलाई हेरिनुपर्छ भन्ने हाम्रो मान्यता हो । बीआरआई परियोजना ठूलो परियोजना हो । तर, ऋण लिएर गर्ने भन्ने कुराहरु हेर्नै पर्ने हुन्छ । बीआरआईका समग्र पक्षहरुमा हाम्रो सहमति नै छ । तर, कसरी जाने भन्ने कुरामा सहमति हुनसक्छ । बीआरआई ऋण भन्दा पनि सकेसम्म अनुदानमै जोड गर्नुपर्ने हुन्छ,’– उनले भने ।
उनले बीआरआई अनुदानमा लिने कुरामा जोड दिनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले ऋणमा लिनका लागि ढोका खुल्ला गरेको बताए । प्रधानमन्त्री ओली चीन गएर कुनै नयाँ काम नगरेको उनको टिप्पणी छ । चीनसँगको नेपालको सम्बन्ध धेरै राम्रो रहेको र यसपछि पनि रहिरहने बताए । प्रधानमन्त्री ओलीले अहिले गरेका विभिन्न सम्झौता पनि कार्यान्वयन हुनेमा आशंका रहेको बताए ।
साथै, उनले आफूहरु कांग्रेस–एमाले गठबन्धन सरकार ढाल्नेतिर नलाग्ने बताए । नेता खनालले वर्तमान सरकार गर्ल्याम्मै ढल्ने दाबी गरे । उनले भने, ‘सब हामी लाग्दैनौं । यो सरकार कसैले ढाल्नु पर्दैन । यो सरकार गल्र्याम आफैं ढल्छ ।’
साथै, माओवादीले कम्युनिष्ट एकताको अभियान चलाइरहेको उनले बताए । नेता खनालले आफूहरुले कम्युनिष्ट एकताको कहिले पनि विरोध नगरेको बताउँदै अब सबैभन्दा पहिला विगतमा विभाजित भएका माओवादीहरुसँग एकताको अभियान चलाइने बताए । File Photo/RN