Logo

समझदारी तोडेर बीआरआईमा हस्ताक्षर, ‘एड फाइनान्सिङ’ शब्दले ऋणलाई बुझाउने कांग्रेस नेताको दाबी (भिडिओसहित)



काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसका नेता डा.गोविन्द पोखरेलले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्गर्त चीनसँग अनुदान र ऋण दुवैको लागि सम्झौता भएको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले समझदारीमा रहेको ‘एड फाइनान्सिङ’ शब्दले ऋण अनुदान दुवैलाई बुझाउने बताएका हुन् ।

‘नेपालले केही अनुदान र केही ऋण लिनेगरी बीआरआईमा सम्झौता गरेको छ । हामीले विश्व बैंक, एडीबीबाट एड फाइनान्सिङ भन्दै गर्दा यसमा ऋण पनि हुन्छ, अनुदान पनि हुन्छ । बीआरआईको परिवेशमा सम्झौतामा विस्तृत खुलाइएको छैन । त्यो शब्दको अर्थ चाहीँ ऋण र अनुदान दुवै हुन्छ । बीआरआईको प्रसंग पनि त्यही नै हो,’– उनले भने ।

कांग्रेसले बीआरआई लोनमा लिन नहुने बताउँदै आएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली चीन जानुभन्दा पहिला कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्दा ऋण नलिने सहमति भएको थियो । तर, बीआरआई अन्तर्गत भएको समझदारी पत्रमा उल्लेख भएको एड फाइनान्सिङ शब्दले अहिले चर्चा पाउन थालेको छ । नेता पोखरेले वैदेशिक सहयोग लिएर सभाहल र सिटीहल बनाउन आवश्यक नरहेको पनि बताए ।

साथै, उनले बीआरआईको ऋण लिएर भ्यूवटावर बनाउने, ठूला–ठूला सभाहल बनाउने जस्ता काममा लागेको खण्डमा घातक हुने बताए । उनले लिइएको ऋण उत्पादक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । ऋण लिँदाको शर्त, ऋण ल्याएर लगानी गर्ने क्षेत्रहरुमा चनाखो हुनुपर्ने अवस्था आइलागेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्