काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसका नेता एवं अर्थविद् डा. गोविन्द पोखरेलले अब पार्टीका नेताहरुले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) बारे जनतालाई ढाँट्न नहुने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेताहरुले अब हामी बीआरआईको ऋण पनि लिन तयार भयौं भनेर जनतालाई भन्न सक्नुपर्ने बताए । उनले अब कांग्रेसका नेताहरुले दहीचिउरे कुरा गर्न नहुने धारणा राखे ।
नेता पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क हस्ताक्षरमा उल्लेख ‘एड फाइनान्सिङ’ शब्दले ऋणलाई नै जनाउने बताए । ‘दहीचिउरे कुरा गर्न भएन । हामीले ऋण पनि लिने भयौं, अनुदान पनि लिने भयौं । ऋण लिँदाखेरी अब हामीले सहुलियतमा लिने प्रयास गर्छौं । हामीले बीआरआईबाट ल्याएको ऋण हुलियत होस् । भरसक हामीले धेरै अनुदानमा लिने प्रयत्न गर्छौं भनेर भन्नुपर्यो । हामीले ऋण लिँदैनौं भनेर जनतालाई ढाँट्नु भएन । हिजोको सम्झौताको भाषा बुझ्ने हो भने हामी बीआरआईमा ऋण पनि लिन तयार भयौं,’– उनले भने । File Photo