काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार चितवनमा पार्टी सभापति रवि लामिछानेको पक्राउबारेको विरोधमा आफ्ना कार्यकर्ताले पत्रकार कुटेको भन्दै आएको समाचाराप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै पार्टीका प्रवक्ता मनिष झाले कार्यक्रम बिथोल्नका लागि कसैबाट नियोजित रुपमा घुसपैठ भएको हुनसक्ने आशंका गरेका छन् ।
बुधबार रास्वपाले चितवनमा गरेको कार्यक्रममा समाचार संकलनका लागि पुगेका कपुरकोट मिडियामा कार्यरत पत्रकार सन्तोष देउजालाई रास्वपाका कार्यकर्ताले निर्घात कुटपिट गरेका थिए भने सो क्रममा घटनाका बारे बुझ्न जाँदा महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली र नेपाल प्रेसकी संवाददाता तथा प्रेस चौतारी चितवनकी इन्चार्ज प्रतिमा सिलवाललाई दुव्र्यवहार गरिएको थियो । यसबारेमा नेपाल पत्रकार महासंघ लगायतले भत्सना गर्दै विरोध जनाएका छन् ।
रास्वपाले सदैव सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुप्रति सम्मान राख्ने र सञ्चारकर्मीहरुलाई सुरक्षित राख्नुपर्छ भन्ने पार्टीको स्पष्ट मान्यता रहेको झाले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘हाम्रा प्रदर्शनमा पार्टी सदस्य तथा पार्टीका शुभचिन्तकहरुबाहेक कार्यक्रमलाई बिथोल्ने र हिंसात्मक बनाउने नियतले घुसपैठ भइरहेको प्रमाण हिजो पनि भेटिएको थियो र त्यस्तै उद्देश्य लिएर आएका व्यक्तिहरुबाट चितवनमा यस्तो भएको हुनसक्ने हाम्रो अनुमान छ’ उनले भनेका छन् ।
रास्वपाले त्यस्ता व्यक्तिहरुको पहिचान गरी कानुनी कारवाही गर्न माग गरेको छ । ‘प्रक्रियामा आवश्यक सहयोग गर्न रास्वपा सदैव तयार रहेको सम्बन्धित सबैमा स्पष्ट पार्न चाहन्छौं । साथै यस्ता खालका घटना नहोस् भनी चनाखो रही शान्तिपूर्वक र नियन्त्रित रूपमा विरोध कार्यक्रम सञ्चालन गर्न गराउन सम्पूर्ण पार्टी सदस्य तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।