Logo

दलहरुको एजेण्डा मलाई असफल बनाउनेमात्रै छ, तर अब हर्कपथ सुरु भइसक्योः हर्क साम्पाङ



काठमाडौं, २० मंसिर । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले दलहरुको एजेण्डा कसरी विकास गर्ने भन्दा पनि कसरी आफूलाई हराउने भन्नेमात्रै रहेको बताएका छन् । आज (बिहीबार) कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूलाई असफल बनाउन दलहरु संगठित रुपमा नै लागिरहेको बताएका हुन् । उनले देश अब हर्कपथमा अगाडि बढिसकेको र आफू यसरी नै अगाडि बढिरहने बताए ।

‘ेदलहरुको एजेण्डा विकास कसरी गर्ने छैन । हर्क साङ्पाङलाई कसरी असफल पार्ने भन्नेमात्रै छ । उनीहरु त्यसरी संगठित रुपमा लागिरेहका छन् । तर, सक्दैनन् । म यस्तै छु, यसरी नै परिवर्तन हुन्छ देशमा । मिठो बोलेर कोखमा छुरा हानेर चल्दैन । यसरी नै जान्छ । हर्कवाद, हर्कपथ सुरु भयो अब । स्टेट बोल्ने हो । गलतलाई गलत भन्ने हो, सहीलाई सही,’– उनले भने ।

‘पदअनुसारको शब्द चयन भएन भन्छन्’ भन्ने प्रश्नमा उनले सबै स्थानीय तहका मेयरलाई आफूजस्तै खह्रो बन्न सुझाव दिए । उनले मिठो बोलेर भ्रष्टाचार गर्नेलाई प्रोत्साहन गर्न नहुने बताए । धराने जनताले नै पिरो मेयर चुनेको उनको टिप्पणी छ । ‘यहाँ मिठो बोलेर भ्रष्टाचार गर्दिउँ त ? खाइदिउँ कमिसन ल्याम्मै ? त्यस्तो छ हैन होला । धराने जनताले चुनेकै पिरो मेयर हो । तीतो, टर्रो, पिरो थियो । त्यसमा पिरो छाने, मुख पोलिरहेको छ । मन पराउँदैनन् भने ठिकै छ,’– उनले भने ।

साथै, उनले आगामी ०८४ मा दल खोल्ने संकेतसमेत गरे । मेयर साम्पाङले पब्लिकले दल खोलेको खण्डमा आफू नेतृत्व लिन तयार रहेको समेत बताए । उनले भने, ‘पब्लिकले खोल्ने हो । अगुवाइ म गर्छु । एक्लैले खोलेर हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्