Logo

मानव तस्करीका आरोपित एमाले नेता लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं, २० मंसिर । मानव तस्करीको आरोप लागेको एमाले नेता एवं कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिलको कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सो रिट दर्ता गराएका हुन् ।

सुरुमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको उक्त मुद्धा बेन्चको आदेशपछि दर्ता भएको हो । सो मुद्दामा आगामी आइतबारका लागि पेशी तोकिएको छ । ‘रिट दर्ता भइसकेको छ । आगामी आइतबारका लागि पेशी तोकिएको छ,’– रिपोर्टर्स नेपालका लागि संक्षिप्त कुराकानी गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले भने ।

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी आफूसँग असम्बन्धित मान्छेहरुलाई जापानको एक कार्यक्रममा गएको घटना बाहिरिएको थियो । तत्कालीन मन्त्री अधिकारीसँग जापान पुगेका ३ जनाले कोशी प्रदेश सरकार कानुन मन्त्रालयको परिचयपत्र दुरुपयोग गरेका थिए । जापानको अध्यागमन विभागले तत्कालीन मन्त्री अधिकारीसहित ४ जनालाई नै डिपोर्ट गरेको थियो ।

चर्को आलोचनापछि गत कार्तिक २५ गते पक्राउ गरेका कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । पूर्वमन्त्री अधिकारी जोडिएको उक्त घटनामा ११ जनाविरुद्ध मुद्दा दायर भएपनि मन्त्री अधिकारीमाथि मुद्दा नचल्ने निर्णय भएको थियो ।



प्रतिक्रिया दिनुहोस्