Logo

कांग्रेसको पैसा खाएर एमालेलाई चुनाव हराएको आरोप लागेपछि सांसद यादवले भने: चरित्र हत्या गर्ने चेष्टा गरियो, प्रमाण ल्याए राजनीति छाड्छु



काठमाडौं । गत आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनलाई लिएर सत्तारुढ दल नेकपा एमाले सुनसरीमा सुरु भएको किचलो साम्य भएको छैन्। गत ०७४ सालको स्थानीय तह निर्वाचनमा जितेको गढी गाउँपालिका ६ को वडाध्यक्षमा शर्मानाक हार ब्यहोरेपछि नेताहरुबीच आरोप-प्रत्यारोप सुरु भएको हो । नेताहरुबीच आरोप-प्रत्यारोप चलिरहँदा गढी गाउँपालिका ६ का वडा कमिटी अध्यक्षसहित २१३ जनाले बुधबार सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेपछि विवाद सतहमा आएको हो ।

नेपाली कांग्रेससँग मिलेर एमाले कोशी प्रदेश सभा सदस्य रामदेव यादवले एमालेलाई चुनाव हराएको आरोप लगाउँदै नेताहरुले पार्टी छाडेपछि यादवले आफ्नो चरित्र हत्या भएको दाबी गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्नो चरित्र हत्या गर्ने चेष्टा भएको र प्रमाण ल्याए आफूले राजनीति छाड्ने जिकिर गरेका छन् ।

उपनिर्वाचन भएको गढी गाउँपालिका क्षेत्रबाटै निर्वाचित सांसद यादवलाई एमाले गढी ६ का वडाध्यक्ष चितनारायण खेवारले एक विज्ञप्ति जारी गर्दै आर्थिक चलखेलको हल्ला चलेको आरोप लगाएका थिए । यस्तै खेवारले विज्ञप्ति जारी गर्दै आफूसहित वडा कमिटीका पदाधिकारी, सदस्यहरू तथा पार्टी सदस्य गरी २१३ जनाले एमाले परित्याग गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

‘पार्टीको घोषित उमेदवारको विरुद्धमा प्रचार गर्ने पार्टी कार्यालयमा सम्पर्क नगर्ने लगायत पार्टी हित विपरित काम गरेर चुनाव हराउने अनि पराजयको कारण जिल्ला कमिटी सदस्यहरु, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधि सभा सदस्य क। भगवती चौधरी लगायत प्रदेश सांसद क. रामदेव यादवले नेपाली कांग्रेसका तपन दास सँगको आर्थिक लेनदेनको हल्ला हातीमुडामा चल्नु भन्ने झुठो,गैरजिम्मेवारी, अनैतिक, अपुष्ट सामाचार विज्ञप्ती छापेर तुक्ष मनसायले फेसबुकमा पोष्ट गर्नु कसैको राजनैतिक चरित्रको हत्या गर्ने चेष्टा सिवाय अरु केहि होइन’ उनले भनेका छन् ‘म यो कुराको विज्ञप्ती मार्फत खण्डण गर्दछु कि कसैले यो कुरा पुष्टि गरि दिएमा म पार्टीको सम्पुर्ण जिम्मेवारी बाट संयास लिने छु । पार्टीको समिक्षा बैठकमा आफू बच्न चित नारायण खेरवारले अरुलाई दोष थुपारेर पार्टी परित्याग गरेको कुरा नै यथार्त साँचो हो । यसमा कसैलाई कुनै दुविधा वा भ्रम नहोस् भन्ने मेरो धारणा हो’ ।

एमालेले उपनिर्वाचनमा सन्तु उराँवलाई उम्मेदवार बनाएको थियो, भने प्रतिनिधि सभा सदस्य तथा केन्द्रिय सदस्यसमेत रहेकी पूर्वमन्त्री चौधरीलाई निर्वाचन परिचालन मूल समितिको संयोजक बनाईएको थियो । कोशी प्रदेशका सांसद रामदेव यादबलाई सह संयोजक तोकेको थियो । तर, सांसद चौधरीले हैकमबादी प्रवृत्ति देखाएको र यादवले नेपाली कांग्रेससँग पैसा खाएर एमालेलाई चुनाव हराएको खेरवारले आरोप लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्