काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) का परियोजनाहरु आफ्नो गृहजिल्लातिर लानु कमजोरी भएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्रीको क्षेत्रमा एउटा गार्डेन बनाउनुपर्यो, पूर्वप्रधानमन्त्रीको क्षेत्रमा एउटा टेक्निकल पोलिक्लिनक बनाउनुपर्यो अथवा यति सानो कुरामा विदेशमा गएर हामीले अनुदान माग्दाखेरी हाम्रो हैसियत चाहीँ कमजोर देखिएको हो,’– उनले भने ।
बीआरआईको फ्रेमवर्क परियोजनामा डडेलधुरास्थित अमरगढी सिटी हल र दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्सबारे टिकाटिप्पणी भइरहेका छन् । झापा प्रधानमन्त्री ओलीको गृहजिल्ला हो भने डडेलधुरा कांग्रेस सभापति देउवाको गृहजिल्ला हो ।
साथै, प्रधानमन्त्री ओलीले बीआरआईअन्तर्गतका कुनै पनि परियोजनामा ऋण सम्झौता नभएको भनिसकेपछि कांग्रेसले फरक मत राख्न आवश्यक नरहेको उनले बताए । कांग्रेसले वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने चाहेको बताए । यद्यपि वर्तमान सरकारले जनताको आशा, अपेक्षबमोजिम काम गर्न नसकेको र जनतामा झन निराशा बढ्दै गएको उनको टिप्पणी छ ।
‘कांग्रेस इमानदारिताको साथ यो गठबन्धनलाई निरन्तरता दिन चाहन्छ । तर, गठबन्धनमा रहने मन्त्रीहरुले इमानदारिताको साथ काम गर्नुपर्छ, जनताको पक्षमा काम गर्नुपर्छ । जनताको आशाअनुरुप कामहरु भएका छैनन्, विकासका गतिहरु असाध्यै सुस्त गतिमा भएका छन् । जनताको अपेक्षाअनुसार विकास निर्माणको काम भएको छैन । जनतामा निराशा छ,’– उनले भने ।
नेता खतिवडाले गाउँको अवस्था अत्यन्तै चिन्ताजनक र जनतामा निराशामात्रै रहेको बताए । अहिले गाउँमा बत्ति, खानेपानी, विद्यालय, सडक पुगेपनि मान्छेहरु बस्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । जनताको अपेक्षा र मनस्थितिलाई सम्बोधन गरेर सरकारले काम गर्न सक्नुपर्ने उनले बताए ।
सरकारले गेयर चेन्ज गरेर कामको गति अगाडि बढाउन नसकेको खण्डामा जनता सधैं सत्तारुढ दलको पक्षमा नरहने उनको चेतावनी छ । जनतालाई अनुभूत हुने खालको कामहरु गरेर सरकार अगाडि बढ्नुपर्ने उनले बताए ।