Logo

शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहहरुलाई परिपत्र



काठमाडौं, २१ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरुको तलबभत्ता मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था गर्न सबै स्थानीय तहहरुलाई परिपत्र गरेको छ । गत मंसिर १७ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयको आधारमा सामान्य प्रशासन मन्त्रालयले शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेवापत पाउने तलबभत्ता मासिक रुपमा भुक्तानी गर्ने परिपत्र गरेको हो ।

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. १३८ मिति २०८१/०८/१७ को पत्रमार्फत शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा वाहेक शिक्षकले काम गरेवापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र पठाउने भनी अनुरोध भै आएको हुँदा पत्रको छायाँप्रति यसै साथ संलग्न गरी आवस्यक जानकारी तथा कार्यार्थ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ,’– परिपत्रमा भनिएको छ ।

हाल शिक्षकहरुको तलबभत्ता भुक्तानी त्रैमासिक रुपमा हुँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्