काठमाडौं, २१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति घोर आपत्ति जनाएको छ । आज (शुक्रबार) आकस्मिक बैठकपछि रास्वपाले विज्ञप्ति जारी गर्दै रास्वपा सभापति लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिनु ‘आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना’ भनेको छ । सरकारको प्रत्यक्ष निर्देशनमा लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिएको सूचना आफूहरुसँग रहेको पनि रास्वपाले दाबी गरेको छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान तथा गृहमन्त्री एवं सांसद रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति रहेको छ । सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको रहेछ । यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरु प्रहरी सुत्रबाट प्राप्त भएका छन्,’– विज्ञप्तिमा भनिएको छ ।
सरकारले प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न वहानामा यातना दिने, अमानवीय, अपमानजनक र गैरन्यायिक चालबाजी गरिरहेको रास्वपाको आरोप छ । रास्वपा सभापति लामिछानेको डायरीसमेत हिरासतबाटै गायब पारिएको भन्दै रास्वपाले आपत्ति जनाएको छ । रास्वपाले सरकारको यस्तो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन भएको बताएको छ । यसबारेमा रास्वपाले राष्ट्रिय मानवअधिकार आयोग र सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी, मानवअधिकारवादी संघ संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।
राज्य संयन्त्र रास्वपा र यसका सभापति लामिछानेविरुद्ध षडयन्त्रपूर्ण रुपमा सक्रिय रहेको रास्वपाका आरोप छ । सरकार दुई तिहाईको दम्भमा लोकतान्त्रिक व्यवस्थालाई दलीय कुशासनको पञ्जामा पार्न उद्दत रहेको रास्वपाको ठहर छ । रास्वपाले राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सबैसमक्ष अपिल गरेको छ । File photo/RN