काठमाडौं । आगामी मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका ५ वटा भातृ संगठनले मिलेर चुनाव लड्ने भएका छन् ।
माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा उम्मेदवारी दिएको छ । गिरीको प्यानलबाट वरिष्ठ उपाध्यक्ष रोशन पुरी, खुला उपाध्यक्षमा रामकृष्ण अधिकारी, महासचिवमा लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।
महिला उपाध्यक्षमा गंगा बरालले उम्मेदवारी दिँदा समावेशी उपाध्यक्षमा समाजवादी प्रेस सङ्गठन नेपालबाट सुवास साहले उम्मेदवारी दिएका छन् । गिरीको संयुक्त प्यानलमा समाजवादी प्रेस सङ्गठन नेपाल, क्रान्तिकारी प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन नेपाल, प्रगतिशील पत्रकार सङ्गठन नेपालले संयुक्त प्यानल बनाएका हुन् ।
समावेशी उपाध्यक्षमा उम्मेदवारी दिएका साह हाल राजधानी दैनिकमा कार्यरत छन् । यसअघि उनले रेडियो नेपाल, अनलाइन खबरलगायतमा काम गरिसकेका छन् ।
उनी नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्यसमेत हुन् । पत्रकारिता बिषयमा (एमए) गरेका साह नेकपा एकीकृत समाजवादी निकट प्रेस संगठनका उपाध्यक्ष हुन् ।