काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजनाबारे भएको सहमतिमा अनभिज्ञता प्रकट गरेका छन् ।
आज (शुक्रबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बीआरआई परियोजना ऋणमा लिने सहमति नभएको बताए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमतिमा ‘एड फाइनान्सिङ’ शब्द उल्लेख छ । उक्त शब्दले ऋण तथा अनुदान सहायता दुवैलाई जनाउने अर्थविद्हरुले बताउँदै आएका छन् ।
नेकपा (एमाले) का सचिव रघुवीर महासेठले समेत नेपालले बीआरआईको ऋण तथा अनुदान दुवै सहायता स्वीकार गरिसकेको बताएका छन् । तर, सत्तारुढ दलका शीर्ष नेता देउवाले नै प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बीआरआई ऋणमा लिने सहमति नभएको बताए । बीआरआई ऋणमा लिने सहमति नगरेको भन्दै देउवाले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनसमेत भ्याए । File Photo/RN