काठमाडौं, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार धेरै समय नटिक्ने टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एकले अर्कोलाई धोका दिने परम्पराबाटै अगाडि बढेकाले यो सरकार भोलि नै ढल्दा पनि आश्चर्य मान्न नहुने बताएका हुन् ।
उनले नेपालको संविधानले ५ वर्षको आवधिक सरकारको परिकल्पना गरेको भएपनि दलहरुको कारण अस्थिर बनेको टिप्पणी गरे । उनले देउवा–ओलीबीच फेरि धोकाधडी हुँदैन भनेर भन्न नसकिने बताए ।
‘कांग्रेस–एमाले गठबन्धन भोलि नै टुट्यो भने पनि आश्चर्य मान्नुपर्ने कुरा छैन । नेपालमा स्थिर सरकारभित्र अस्थिरता छ । ५ वर्षको स्थिरत सरकार छ, तर अस्थिर छ,’ उनले भने, ‘बेइमानी गर्ने र एकले अर्कोलाई धोका दिने त्यो उहाँहरुको परम्परा नै हो । त्यो परम्परा फेरि सुरु नहोला भन्न सकिँदैन । म उहाँहरुलाई चिन्छु । धोकाधाडी हुँदैन भनेर कसरी भन्नु ? पहिला उहाँहरुको रेकर्ड छ ।’ File Photo/RN