काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) का कुनै पनि परियोजना ऋणमा अगाडि बढाउन नसकिने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बीआरआईअन्तर्गतका परियोजनाको सम्झौता अनुदानको आधारमा मात्रै हुने बताएका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बीआरआईअन्तर्गतका परियोजना ऋणमा नलिने र नलिइएको प्रष्ट पारिसकेको सुनाए । ‘परियोजना सम्झौता अनुदानको आधारमा मात्रै हुन्छ । ऋण लिन हुँदैन । प्रधानमन्त्रीले अनुदान सहयोग भन्दा हामी लिँदैनौं, बीआरआईअन्तर्गत अनुदानमात्रै लिन्छौं भन्नुभएको छ । हामीले पनि त्यही भनिरहेका छौं,’– प्रवक्ता महतले भने, ‘हाम्रो बटमलाइन अनुदानमात्रै स्वीकार गर्ने हो । प्रधानमन्त्रीजीले पनि त्यही भन्नु भएको छ । परियोजना सम्झौता गर्दा हामीले स्पष्ट रुपमा भन्नुपर्छ हामी अनुदानमात्रै लिन्छौं ।’
साथै, प्रधानमन्त्री ओलीले बीआरआई परियोजना अनुदानमामात्रै स्वीकार गर्ने बताइरहेको अवस्थामा सत्ता समीकरणमा शंकट नआउने उनले बताए । उनले चीनबाट मात्रै नभएर अन्य मुलुकसँग पनि अहिले ऋण लिन नसकिने बताए । ‘अनुदान नै लिन, ऋण नलिने भनेपछि किन शंकट आउनु ? यो ऋण लिने÷ नलिने भन्ने कुरा चीनसँगको मात्रै कुरा होईन फेरि । भारत र अन्य देशहरुबाट पनि अहिले ऋण नलिने, बोझ धेरै भयो । अहिले अनुदान कार्यान्वयन गरौं भन्ने नै हो,’– नेता महतले भने ।
राज्यमा सार्वजनिक ऋणको भार धेरै भएको बताउँदै उनले अनुदान लिने र बरु विदेशी लगानी भित्र्याउन प्रोत्साहन गर्नुपर्ने बताए । उद्योग व्यवसायमा लगानी आकर्षित गर्ने कुरामा प्रोत्साहित गर्नुपर्ने उनको जोड छ । सामान, ठेकेदार कम्पनी र जनशक्तिसमेत उनीहरुकै र थोरै समयमा तिर्नुपर्ने दुईपक्षीय ऋणलाई निरुत्साहित नै गर्नुपर्ने उनको भनाइ छ ।
साथै, प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बीआरआई परियोना पत्रमा ‘एड फाइनान्सिङ’ शब्द उल्लेख रहेको बारे प्रष्ट पार्दै उनले यसलाई ऋण तथा अनुदान सहयोग दुवैको रुपमा बुझ्नुपर्ने बताए । तर, नेपालले परियोजना सम्झौता गर्दा प्रष्ट रुपमा अनुुदानमात्रै लिन्छौं भन्न सक्नुपर्ने उनको भनाइ छ । ‘एड फाइनान्सिङ’ भनेको वित्तीय सहयोग लिने भनेको हो । वित्तीय सहयोग भन्नाले ऋण, अनुदान दुवै हुनसक्छ । तर, हामीले लिने बेला अनुदान सहयोग मात्रै लिनुपर्छ,’– उनले भने ।