Logo

‘प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड-२०८१’ हुँदै, विभिन्न विधाका उत्कृष्ट पाँच जनालाई सम्मान प्रदान गरिने



काठमाडौं, २२ मंसिर । गलबन्दी म्युजिक प्रा.लि. को आयोजनामा ‘प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१’ हुने भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी गराइएको हो । कलाकार, कलासाहित्य प्रेमी, आम दर्शक तथा स्रोताहरुको सकारात्मक प्रतिक्रियाले थप जिम्मेवारी वहन गर्ने मोडमा पुर्याएको महसुस गरी म्युजिक अवार्ड आयोजना गर्ने निर्णय गरिएको गलबन्दी म्युजिकले जनाएको छ ।

“कला, संस्कृति हाम्रो पहिचान, संरक्षण गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, चलचित्र र साङ्गीतिक क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका लागि क्रियाशिल कलाकर्मी तथा प्राविधिकलाई प्रोत्साहन एवम् सम्मान गर्दै उनीहरुको योगदानको कदर गर्नु अवार्डको मूल उद्देश्य रहेको बताइएको छ ।

गलबन्दी म्युजिक प्रा.लि.का अध्यक्ष साजन कुँबरले विभिन्न ४४ विधालाई समावेश गरी प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड आयोजना गरिएको बताए । कार्यक्रमको निर्णयक मण्डलमा बरिष्ठ संगितकार राजु सिंह, वरिष्ठ गायक तथा संगितका बी.बी अनुरागी, लोकगायक राजु परियार रहेका छन् ।

यसैगरी अफिसियल मिडिया पार्टनरको रुपमा प्राइम टाइम्स टेलिभिजन, लालिगुराँस अनलाईन, सौर्य दैनिक र लोक संञ्चारकर्मी संघ नेपाल रहेको छ । प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवाडअन्तर्गत नेपाली चलचित्र तथा साङ्गीतिक क्षेत्रमा विशेष योगदान पुर्याउने एकजना अग्रज कलाकर्मीलाई नगद राशीसहित ’लाइफ टाइम अचिभमेन्ट’ र नेपाली चलचित्र तथा गीतसङ्गीतको क्षेत्रमा २५ वर्ष सक्रिय रही विशेष योगदान दिएका एक जना कलाकर्मीलाई नगदराशीसहित ’रजत सम्मान’ प्रदान गरिने बताइएको छ ।

त्यस्तै, समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने श्रष्टा तथा कलाकर्मीमध्ये एकजनालाई– नगदराशीसहित ‘सामाजिक परिवर्तनकारी श्रष्टा तथा कलाकर्मी सम्मान’, नेपालको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने एकजना पर्वतारोहीलाई ’गलवन्दी पर्यटन सम्मान’ र नेपाली चलचित्र तथा गीत–सङ्गीत क्षेत्रको प्रवर्धनमा विशेष योगदान पुर्याएका एक संचारकर्मीलाई ‘गलबन्दी रंग पत्रकारिता’ सम्मान प्रदान गरिने बताइएको छ ।

प्रथम गलबन्दी फिल्मस् एण्ड म्युजिक अवार्ड–२०८१ अन्तर्गत पुस ३ गते उत्कृष्ट पाँच सार्वजनिक गरिने र माघ १२ गते फाइनल कार्यक्रम हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्