काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र भाग खोज्नेले जिम्मेवारी पनि लिनुपर्ने बताएका छन् । कोशी प्रदेशको सम्मेलनमा विराटनगर पुगेका महामन्त्री थापाले नेता शेखर कोइरालालक्षित गर्दै भाग खोजेपछि जिम्मेवारी पनि लिनुपर्ने बताएका हुन् । सभापति शेरबहादुर देउवासमेत सहभागी उक्त कार्यक्रममा उनले अहिले फरक विचार राख्नेले पनि पार्टीमा स्थान पाइरहेको बताए । सभापति देउवाको सधैं आलोचनामा रमाउने महामन्त्री थापा आज भने सकारात्मक देखिएका छन् ।
‘पार्टीमा फरक विचार राख्ने मान्छेलाई पनि समेट्नुपर्छ भनेर अहिले पनि भनिराख्नुभएको छ । जिम्मा पनि त लिनुपर्यो । भातृ संस्थामा पनि त हामीले सभापतिज्यूसँग ६०/४० भनेर भाग लगायौं । अब भातृ संस्थाको अधिवेशन गर्ने कुराको जिम्मा त सबैले लिनुपर्यो नि त । हिजो हामी सबैले ६०/४० भनेर भाग लिएपछि जिम्मा पनि लिनुपर्यो,’– नेता कोइरालालक्षित गर्दै उनले भने ।
साथै, पार्टीको गत १४औं महाधिवेशनमा शेखर प्यानलबाट महामन्त्रीमा विजयी भएका थापा देउवासँग नजिकिने प्रयासमा छन् । आगामी महाधिवेशनमा पार्टी सभापतिका दाबेदारसमेत मानिने थापा देउवासँग नजिकिएर संस्थापन पक्षको उम्मेदवार बन्ने कोशिस गरिरहेका छन् । उनले नेता कोइराललो गत मंगलबार कोशी प्रदेशमा गरेको भेलाको समेत विरोध गरे । ‘संयोजन नगरी गरियो भने मोरङको एउटा पालिकाले पालिकाभरीका सबै बोलाउँछु, जिल्ला सभापति बोलाउँदिन भन्यो भने….,’ महामन्त्री थापाले भने ।
नेता कोइरालाले विराटनगरमा गत मंगलबार एकपक्षीय भेला गरेका थिए । जसमा कोशी प्रदेशमा १३७ पालिकामध्ये ११३ पालिकाका सभापतिहरु सहभागी थिए । कोइराला पक्षको भेलालाई मान्यता नदिइ संस्थापन पक्षले आज छुट्टै भेला गरेको हो । संस्थापन पक्षको भेलालाई शेखर र उनी पक्षधरले भने बहिस्कार नै गरेका छन् । File Photo/RN