काठमाडौं, २२ मङ्सिर । दमकमा बहुपयोगी १८ तले भवन (भ्यू-टावर) निर्माण भएको छ । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम छ ।
‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले बताए । प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।
तर, उक्त १८ तले भवनको नक्सा पास नरहेको बताइएको छ । ‘नक्सा पास भएको छैन । पक्रियामा छ,’– नगरपालिकामा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने । आवश्यक कागजातको अभावमा नक्सा पास दिन नसकिएको बताइएको छ ।
यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर – ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको भोलि नै उद्घाटन गर्ने कार्यक्रम छ । उनका साथ प्रथम महिला राधिका शाक्य पनि भवन उद्घाटन कार्यक्रममा सहभागी हुने नगरप्रमुख गोपाल बुढाथोकीले बताए । File Photo/RN