काठमाडौँ, २२ मङ्सिर । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सबैको अथक प्रयासले अहिले न्यायालय एउटा लयमा फर्किएको बताएका छन् । काठमाडौँमा वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र वितरण समारोहमा उनले लयमा फर्किएको न्यायालयलाई अब गरिमामय बनाउनुपर्ने बताए ।
“न्यायालय लयमा फर्किएकामा मात्रै चित्त बुझाउने हो कि गरिमामय बनाउने हो, यो आफैँ गरिमामय त बन्दैन है । यसलाई गरिमामय बनाउने जिम्मेवारी वर्तमान परिवेशले हामी सबैलाई सुम्पेको छ, हामीले आफूलाई निर्मम समीक्षा गर्न जरूरी छ, हामीले न्यायालयलार्ई गरिमामय बनाउन सकिरहेका छौँ कि छैनौँ, त्यसतर्फ हाम्रो भूमिका उन्मुख छ कि छैन ? विचार गर्नुपर्ने भएको छ,” उनले भने ।
आफू न्यायालयलाई गरिमामय बनाउन तयार रहेको बताउँदै उनले वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले साथ दिनुपर्ने बताए । ‘तपाईंहरूको साथ सहयोग र सहकार्य गर्न पाए न्यायालय गरिमामय नहुने कुरै छैन, एकपटक प्रयास त गरौँ, म नम्रतापूर्व सम्पूर्ण वरिष्ठ अधिवक्ताहरूमा नमन गर्न चाहन्छु,”– उनले भने ।
उनले वरिष्ठ अधिवक्ताले उच्च तहको मर्यादाको अभ्यास गर्नुपर्नेमा जोड दिँदै नैतिकताको लक्ष्मण रेखाभित्र बस्न सक्नुपर्ने बताए । उनले निजी स्वार्थ, अनुचित, नाजायज र बेमनासिब कुरालाई त्याग्न सकिएन भने नैतिकता जोगाउन नसकिने बताए ।
प्रमाण र काुननका आधारमा न्याय दिनै सकिँदैन भन्ने जस्ता मुद्दा अदालत पुगेको सन्दर्भ जोड्दै उनले भने, “कहिले साथी, कहिले पावर सेन्टरको दवाबमा कहिलेकाहीँ आकर्षक पारिश्रमिकको आधारमा पुग्छ नि, त्यतिखेर टिक्दै नटिक्ने मुद्दामा वरिष्ठज्यूहरूको अदालतमा उपस्थिति देखियो भने इमेज कस्तो होला ?, स्तर कस्तो होला ? अरूले पनि नियाल्छ नि, जस्तै हामी न्यायाधीशहरूलाई अरूले नियालेका छन् नि, इमेज कस्तो हुन्छ ? यसको उत्तर मैले दिनु शोभनीय हुन्न, यो जिम्मा मैले तपाईंहरूलाई छाडेँ ।” File Photo/RN