काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
आजै काठमाडौं आएका लुले अध्यक्ष प्रचण्ड निवास खुलमटार पुगेर भेट गरेका हुन् ।
भेटमा अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेको प्रचण्डको सचिवालयले जनाएको छ । त्यस्तै, नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास प्रचण्डले व्यक्त गरेका छन् ।
नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उनले सबैको सहयोग र सद्भावबाट अघि बढ्ने बताए । नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसमा अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव महत्त्वपूर्ण हुने बताए ।
नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद समेत दिए ।
सहायक विदेशमन्त्री लुले आजै सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । देउवा भेटेलगत्तै उनी प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् ।