काठमाडौं । खानेपानी आयोजना उद्घाटन गर्न गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट सत्ताच्यूत भएको घटना स्मरण गरेका छन् ।
सोमबार गृह जिल्ला झापाको दमकस्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले ०७८ सालमा सर्वोच्चको परमादेशबाट आफू हटेको स्मरण गरेका हुन् । ०७८ जेठ ८ गते गरेको दोस्रो संसद विघटनलाई उल्ट्याउँदै सर्वोच्च अदालतको संवैधानिक इजलासले ०७८ असार २८ गते ओलीलाई सत्ताच्यूत गरेको थियो । झण्डै साढे ३ वर्षपछि ओलीले सो घटना स्मरण गरेका हुन् ।
‘म प्रधानमन्त्रीबाट हटाइनु भन्दा १३ दिन अघिमात्र यो निर्णय भएको थियो । २०७८ असार १५ गते यो निर्णय भएको थियो । असारको २८ गते म प्रधानमन्त्रीबाट हटाईएको थिए । यहाँको लागि ४ वटा खानेपानीको आयोजना पारेको थिए । ३ वटाको निर्माण पूरा भईसकेको छ । म हट्नभन्दा १३ दिन अघि निर्णय भएको हुँदा अहिले उद्घाटन गर्न पाइयो । मैले निर्णय नगरेको भए अहिले बड्तै काम भएको भए मात्र त्यही इटा राख्ने काम हुन्थ्यो होला’ उनले भने ।
जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै ओलीले देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने जनाए । ‘देश बनाउन हामी सबै एकताबद्द हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेमा देश बन्दैन,’ ओलीले भने, ‘हामी विभिन्न पार्टीका हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ । तपाईंहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईंहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु’।