काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ । सोमबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास, बुढानीलकण्ठमा बैठक बसेको थियो । सो बैठकले विभिन्न चार वटा निर्णय गरेको छ ।
देउवा निवासमा बसेको बैठकले गरेको पहिलो निर्णय कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा ४ बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्ष पदमा गरेको मनोनयनलाई अनुमोदन गर्नु रहेको छ । पूर्व राज्यमन्त्री समेत रहेका श्रेष्ठलाई २ साताअघि देउवाले कोषाध्यक्ष मनोनीत गरेका थिए । सो मनोनयन आजको बैठकले अनुमोदन गरेको हो ।
कांग्रेसको बैठकले गरेको दोस्रो निर्णय नेपाल तरूण र नेपाल किसान महासंघको विधान परिमार्जनको निर्णय हो । आजको बैठकले नेपाल तरूण दलको विधान, २०१० (संशोधन सहित) सातौं संशोधन २०८१ र नेपाल किसान महासंघको विधान, २००८ (संशोधन सहित) सातौं संशोधन २०८१ लाई परिमार्जन सहित पारित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै बैठकले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने तेस्रो निर्णय गरेको छ। रिक्त स्थानमा पदपूपर्तिका लागि निर्वाचनमा आयोगमा भएको बन्दसूचीको क्रमसंख्याअनुसार उनको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
केही अघि गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि सो पद रिक्त थियो । निर्वाचनका बेला कांग्रेसले बुझाएको समानुपातिकतर्फको बन्दसूची अनुसार आदिवासी जनजाति क्लस्टरको १ नम्बरमा रहेकी गौचनको मृत्यु भएपछि पाँचौ नम्बरमा रहेकी स्याङ्जा चापाकोटकी थापा प्रदेशसभा सदस्य बन्ने भएकी हुन् ।
आदिवासी जनजाति महिलातर्फबाट म्याग्दीकी गौचनसहित पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ क्रमसंख्याअनुसार सामानुपातिक सांसद बनेर प्रदेश सभा छिरेका थिए । गौचनको निधन भएसँगै क्रम संख्याअनुसार स्याङ्जाकी सुनिताले प्रदेश सभा सदस्य बन्ने अवसर पाएकी हुन् ।
त्यस्तै बैठकले गरेको चौथो निर्णय पनि स्वर्गीय गौचनसँगै सम्बन्धित रहेको छ । गौचनको २०८१ कात्तिक २८ गते राति भएको निधनप्रति कार्यसम्पादन समितिको बैठकले गहिरो दुःख व्यक्त गरेको छ । बैठकले गौचनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरी उनको आत्माको चीर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्ने निर्णय गरेको पौडेलले जानकारी दिए ।