Logo

सानोपाइला सहकारी ठगी प्रकरण: पर्सामा रवि लामिछानेको बयान सुरू



काठमाडौं, मंसिर २५ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान पर्सामा सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय पर्सामा १० बजे उपस्थित गराएर बयान सुरु गरिएको छ ।

वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सा पु¥याइएको छ। प्रहरीले सभापति लामिछानेलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पर्सा लगेको थियो ।

पर्सा प्रहरीले लामिछानेलाई सिमराबाट भने सवारीसाधनमा राखेर पर्सा पु¥याएको छ । गत मङ्सिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको आधारमा थप अनुसन्धानको लागि लामिछानेलाई पर्सा लगिएको हो ।

रास्वपाका सभापति लामिछानेलाई वीरगञ्ज लैजाने क्रममा रास्वपाका कार्यकर्ताले सिमरा र वीरगञ्जमा विरोध प्रदर्शन गरेका थिए । पर्सा प्रहरीले सानो पाइला सहकारी प्रकरणमा जोडिएका गोर्खा मिडिया तत्कालीन उपाध्यक्ष छविलाल जोशी बन्जाडे र रामबहादुर खनाललाई स्थलमार्गबाट आइतबार मध्यरातमा पर्सामा ल्याइएको जानकारी दिए ।

पर्सा जिल्ला अदालतले गत मङ्सिर १९ गते रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको थियो ।

तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब रू आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर जिल्ला–जिल्लामा बयान लिने क्रम जारी छ ।



प्रतिक्रिया दिनुहोस्