Logo

प्रचण्डले रविको समर्थन गरेकोमा गृहमन्त्री लेखकको असन्तुष्टि, अनुसन्धान प्रभावित पार्न खोजेको आरोप



काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेर अनुसन्धानको दायरामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट पारेका छन् । उनले लामिछानेमाथि न्यायपूर्ण तवरले अनुसन्धान कार्य जारी रहेको स्पष्ट पारेका छन् ।

आज सुर्खेतमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । बरु, उनले लामिछानेका समर्थकहरुले अनुसन्धान प्रभावित पार्ने कार्य गरिरहेको आरोप लगाए । गृहमन्त्री लेखकले रविको समर्थनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकालेको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।

‘कसैले पनि अनुसन्धानलाई प्रभावित गर्ने, अदालतलाई प्रभावित गर्ने, न्यायिक प्रक्रियालाई प्रभावित पर्ने ढंगले बोलेको कुरा बेठिक हो,’ लेखकले भने, ‘यसमा प्रमुख प्रतिपक्षी दलको नेताले नै यस्तो काम गर्नु झनै दुर्भाग्यपूर्ण हो ।’

उनले प्रमुख प्रतिपक्षी दलको समर्थनमा लामिछाने आबद्ध दलका समर्थकहरूले पनि अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेको बताए । ‘अनुसन्धान हुँदै गर्दा प्रहरी, वकिल कार्यालय र अदालत घेरा हाल्ने, सडकमा आएर विधिको शासनलाई उल्लंघन गर्ने काम भइरहेको छ । के यो सही हो त ?’ उनले भने ।

रवि सहकारी ठगीको आरोपका कात्तिक २ गतेदेखि प्रहरीको हिरासतमा छन् । केही दिन अघि बयानका लागि चितवन ल्याईएकोमा पोखरा लैजाँदा अमानवीय व्यवहार भएको भन्दै रास्वपाले विरोध गरिरहेको छ । यस्तैमा सोमबार प्रचण्डले रविको समर्थनमा विज्ञप्ति निकालेका थिए ।



प्रतिक्रिया दिनुहोस्