काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले तेस्रो जित निकालेको छ । आज भएको खेलमा कर्णालीले पोखरा एर्भेन्जर्सलाई ७ विकेटले पाखा लगाएको हो ।
पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । कर्णालीका लािग गुल्सन झाले सर्वाधिक ४९ रन जोडे । अविजित ४९ रन जोडेका गुल्सन अर्धशतकबाट मात्र १ रनले टाढा रहे । ओपनर देव खनाल शून्य रनमा आउट भएको खेलमा चाडविक वाल्टनले ४२ रन थपे ।
५ खेल खेलेको कर्णाली तीनमा जित र २ मा हारसहित समूहको चौथो स्थानमा छ भने चार खेल खेलेर तीनमा हार भोगेको पोखरा पुच्छरबाट दोस्रो स्थानमा छ । कर्णालीले शीर्ष चारको सम्भावना जिवितै राख्दा पोखरा प्लेअफमा पुग्ने सम्भावनाबाट बाहिरिएको छ ।