काठमाडौं । पटक-पटक विवाद र स्थगीत हुँदै आएको नेपाल पत्रकार महासंघको निर्वाचन आगामी मंसिर २८ गते हुँदैछ । आगामी शुक्रबार हुने महासंघको आसन्न २७औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि चार जना मैदानमा छन् ।
राजनीतिक दलका भ्रातृ संगठनको रुपमा रहेका नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरलगायतले विगतझैं यसपटक पनि दलीय भागवण्डाको आधारमा गठबन्धन गरेका छन् । प्रेस युनियन र चौतारीले केन्द्रदेखि प्रदेश र जिल्ला तहसम्मै भागबन्डा गरेर संयुक्त उम्मेदवारी दिएका छन् । एमाले निकट चौतारीबाट निर्मला शर्माले सो प्यानलको नेतृत्व गरेकी छन् ।
यता प्रेस युनियनबाट बागी उठेका रमेश विष्टलाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरलगायतका ५ संगठनले समर्थन गरेका छन भने देवीप्रसाद सापकोटा र लालसिंह (एलएस) लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका लामाले विभिन्न १५ बुँदे एजेण्डा सार्वजनिक गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै लामाले आफ्ना एजेण्डाहरु सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै लामाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टीका लागि आफू मैदानमा आएको दाबी गरेका छन् । उनले प्रेस युनियनबाट विद्रोह गरेर उठेका विष्ठ पहिल्यै असफल भइसकेको समेत टिप्पणी गरे ।
‘नेपाली सेना, नेपाल प्रहरीलगायतका निजामती कर्मचारीजस्तै एशोसिएट केन्द्रीय सदस्यदेखि बरिष्ठ उपाध्यक्ष हुँदै कार्यवहाक अध्यक्षको भूमिकाको अवसर पाउँदा समेत त्यो बहन गर्न नसकी विष्टले राजिनामा दिएका हुन् । उनैलाई अहिले अध्यक्षको उम्मेद्वार बनाएकोमा आम देशभक्त, श्रमजिवी, स्वरोजगार पत्रकारहरू चिन्तित बनेका छन्’ उनले भने ।
अध्यक्षका प्रत्याशी लामाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष स्व.सत्यनारायण बहादुर श्रेष्ठलाई विगतका नेतृत्वले ओझेलमा पारेकाले संस्थापक श्रेष्ठलगायतका अग्रज पत्रकारहरूलाई अनुमोदन गरी उच्च सम्मान गर्ने, पत्रकार महासंघको समयानुकूल पुनःसंरचना गर्ने, पत्रकार महासंघको अस्तित्व र ऐतिहासिक गरिमालाई अक्षुण्ण र अखण्डितरुपमा कायम राख्ने, पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानलाई थप निर्मम ढंगले निरन्तरता दिने तथा महासंघमा सञ्चार माध्यमहरूको अधिकतम हित र प्रतिनिधित्व गराउने लगायतका एजेण्डा अघि सारेका छन् ।
त्यस्तै लामाले प्रतिष्ठान शाखा, एशासिएटलाई समयानुकुल परिमार्जन गर्दै लैजाने, महासंघको संरचनाभित्र अग्रअधिकारसहितको ५० प्रतिशत महिला सहभागिताको सुनिश्चितताको पहल गर्ने, महासंघको संरचनाभित्र आदिवासी, मधेसी, दलितलगायतका अल्पसंख्यक प्रतिनिधित्व हुने गरी वैज्ञानिकरुपमा परिमार्जन गर्ने, पत्रिका, टेलिभिजन दर्ता, वर्गिकरण, विज्ञापन वितरण प्रणालीको अन्त्य गराउने पनि आफ्ना चुनावी एजेण्डा रहेको बताए ।
लामाले पत्रकार महासंघको चुनावमा राजनीतिक रंग देखिएको भन्दै आफूहरु स्वतन्त्र रुपमा मैदानमा उत्रिएको बताए । पत्रकारको हकहित र स्वतन्त्रताको पक्षमा,श्रमजीबी पत्रकारको पक्षमा आफूहरु सदैव लागिपर्ने उनले बताए । ‘पटक पटक हामीले राजनीतिक दलका साथिहरुलाई माथि पुर्याएयौं । कांग्रेस, एमाले वा माओवादी केही पनि भनेनौं । सदैव भोट हाल्यौं । तर, महासंघको नेतृत्वमा पुगेका साथीहरुले आफ्नो प्रतिवद्धता भुल्नुभयो । महासंघलाई एनजीओकरण गराउन लाग्नुभयो । मिडिया हाउसमा प्रतिष्ठानका साखाहरु खोल्नेतिर लाग्नुभयो । श्रमजीबी पत्रकारको पक्षमा भन्दा मालिकको पक्षपोषणमा लाग्ने काम भयो । त्यो वेथिति चिर्नका लागि मैले उम्मेदवारी दिएको हुँ’ उनले भने ।