Logo

प्रधानसेनापति सिग्देल दिल्ली प्रस्थान



काठमाडाैं | प्रधानसेनापति अशोकराज सिग्देल दिल्ली प्रस्थान गरेका छन् । उनी भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति सिग्देलले मंसिर २७ गते भारतका राष्ट्रपति द्रौपदी मुर्मूबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्राप्त गर्ने कार्यक्रम छ ।

त्यस्तै, भ्रमणका क्रममा भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक शिक्षालयमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा सिग्देल सहभागी हुने जङ्गी अड्डाले जनाएको छ ।

भ्रमण दलमा सैनिक श्रीमती संघकी अध्यक्ष नीता क्षेत्री सिग्देल सम्मिलित ९ सदस्य रहेका छन् । प्रधानसेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीप जंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे।

औपचारिक भ्रमणमा सहभागी हुनुपूर्व प्रधानसेनापति सिग्देललाई मंगलबार नै जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच सम्मान गारत अर्पण गरिएको थियो । प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीप जंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सैनिक मुख्यालयले जनाएको छ ।

प्रधानसेनापतिसहितको भ्रमण दल मंसिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्