काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको अपराजित यात्रामा ब्रेक लागेको छ ।
बुधबार भएको पाँचौ खेलमा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनको फराकिलो अन्तरले पराजित भयो । यो हारसँग सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिँदा जनकपुर दोस्रो स्थानमा झरेको छ । ५ खेलबाट समान ८ अंक जोडेको सुदूरपश्चिम रनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा पुगेको हो ।
सुदूरले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२ ओभरमा ५१ रनमा अलआउट भयो । जनकपुरका लागि जोसुआ ट्रोम्पले जोडेको १३ रननै सर्वाधिक रह्यो । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जनकपुरका ओपनर अनिलकुमार शाह शुन्य, आसिफ शेख ४, लाहिरु मिलान्था ७, हर्ष थाकर ५, जिमी निशम ४, अरनिको यादव १, शेर मल्ल ०, ललित राजवंशी ४ र शुभ कंशाकार ० रनमा आउट भए । किशोर महत्तो शुन्य रनमा अविजित रहे । जनकपुरले १३ रन अतिरिक्त रुपमा पाएको थियो ।
बलिङतर्फ सुदूरपश्चिमका हर्मित सिंह,दीपेन्द्रसिंह ऐरी र इसान पाण्डेले समान २ तथा साइन जैब, नरेन साउद र स्कट कुगेलेइनले समान १ विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनमा रोकिएको थियो ।