Logo

प्रचण्डलाई एमाले नेता श्रेष्ठको चुनौति, ‘यो सरकार विचौलियाहरुको हो भनेर पुष्टि गर्नुस्’



काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई वर्तमान सरकार विचौलियाको हो भनेर पुष्टि गरेर देखाउन चुनौति दिएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कि वर्तमान सरकार विचौलियाहरुको हो भनेर पुष्टि गरेर देखाउन र होईन भने जे पायो त्यही नबोल्न चेतावनी दिएका हुन् ।

उनले प्रचण्डमा आफ्नो जिउमा भैंसी हिँडेको नदेख्ने र अरुको जिउमा जुम्रा हिँडेको पनि देख्ने प्रवृत्ति रहेको टिप्पणी गरे । पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र प्रचण्डकै पालामा देशको अर्थतन्त्रलगायतका क्षेत्रमा ठूलो समस्या आएको र वर्तमान सरकारले ती समस्या सुधारको दिशातिर अगाडि बढाइरहेको उनको दाबी छ ।

‘विचौलिया र भ्रष्टहरुको सरकार हो भने त्यो प्रमाणित गरेर देखाउनुपर्यो नि त । जे पायो त्यही बोल्न मिल्छ ? जे पायो त्यही त बोल्न मिल्दैन नि । सुनकाण्ड सबै उहाँकै पालामा हुने, उहाँकै मान्छे फस्ने, अनि विचौलियाको सरकार भन्ने ? आफ्नो जिउमा भैंसी हिँडेको नदेख्ने, अर्काको जिउमा जुम्रा हिँडेको देख्नुहुन्छ ? त्यस्तो कहीँ हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।

साथै, वर्तमान सत्ता गठबन्धनमा कहीँकतै समस्या नरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्