काठमाडौं, २६ मंसिर । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, हात्तिगौंडास्थित रहेको ठुङरम इन्टरनेशनल एकेडेमी (टीआईए) ले देशव्यापी अन्तर विद्यालय चेस प्रतियोगिता आयोजना गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी यही मंसिर २७ र २८ गते चेस प्रतियोगिता आयोजना गरिएको जानकारी गराइएको हो ।
टीआईएका प्रिन्सिपल उत्तमराज थापाले उपत्यकाभित्रका ८० वटा र उपत्यका बाहिरका २८ देखि ३० वटा विद्यालयहरुले सहभागिता जनाउने बताए । उनले अन्य खेलकुदले शारीरिक व्यायम गराउने र चेसले वैद्धिक खुराक प्रदान गर्ने बताए ।
‘हाम्रो मुख्य उद्देश्य के हो भने खेलकुदले शारीरिक व्यायाममात्रै गराउँछ । यो चाहीँ वौद्धिक खुराक हो । हाम्रो भिजन के हो भने चेसलाई विद्यालयमा मात्रै होईन, कलेजहरुमा र सिनियर सिटिजन्सहरुलाई पनि चेसमा आवद्ध गराउने हाम्रो प्रयास हो,’– प्रिन्सिपल थापाले भने ।
प्रतियोगितामा उपत्यका भित्रका तीन सय र उपत्यका बाहिरबाट ५० जना गरी कूल ३५० जना प्रतिस्पर्धीको सहभागिता रहने बताइएको छ । प्रतियोगिता राष्ट्रियस्तरका प्रशिक्षकहरूबाट सञ्चालन हुने बताइएको छ ।
आयोजकका अनुसार प्रतियोगिता ५ विधामा खेलाइने र हरेक विधाका उत्कृष्ट खेलाडीहरूलाई नगद, ट्रफी मेडल र सर्टिफिकेट प्रदान गरिने छ । प्रत्येक विधाका विजेताहरूमध्ये प्रथमलाई १० हजार, द्वितीयलाई ७ हजार र तृतीय हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस प्रतियोगिताको अनुमानित बजेट ७ लाख रहेको छ । प्रतियोगिता अवधिभर उपत्यका बाहिरका सहभागीहरूलाई थ्री स्टार होटलमा खाना र बस्नको लागि उचित व्यवस्थासमेत मिलाइएको छ ।
प्रतियोगिताको उद्घाटन नगरप्रमुख मीठाराम अधिकारीबाट हुने बताइएको छ । प्रतियोगिताको सह–आयोजक निमा पब्लिकेश रहेको छ ।