Logo

एनपीएलको लिग चरणबाटै बाहिरिने लुम्बिनी पहिलो टिम बन्दा कुन-कुन टिम छन् रेड जोनमा ?



काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स उपाधि होडबाट बाहिरिएको छ । आज भएको खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले पराजित हुँदै लुम्बिनी बाहिरिएको हो । जारी एनपीएलमा प्लेअफको यात्राबाट बाहिरिने लुम्बिनी पहिलो टिम हो ।

लिग चरणमा लुम्बिनीले हालसम्म ६ खेल खेल्दा ५ मा हार र एकमा जित निकालेको छ । ६ खेलमा २ अंक जोडेको लुम्बिनी अंक तालिकाको छैठौं स्थानमा छ । लुम्बिनी औपचारिक रुपमानै बाहिरिसक्दा अन्य टिमको भने सम्भावना कायमै छ ।

हालसम्म समान ५ खेल खेलेका जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले समान ४ जित र एक हार ब्यहोरेका छन् । समान ८ अंक नै भएपनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा रहँदा जनकपुर दोस्रो स्थानमा छ । अब जनकपुरले काठमाडौं र चितवनसँग खेल्न बाँकी रहेको छ भने सुदूरले कर्णाली र पोखरासँग खेल्न बाँकी रहेको । अहिलेकै अवस्थामा सुदूर र जनकपुरले शीर्ष चारमा रहँदा अगाडि बढ्ने सम्भावना बलियो बनाएका छन् । खेल्न बाँकी २ मध्ये एक खेलमा जित निकालेपनि यी दुवै टिम अघिल्लो चरणमा पुग्नेछन् भने दुवै खेल हारे अन्य टिमको नजितामा भर पर्नुपर्ने हुन्छ ।

५ खेल खेलेर समान ६ अंक जोडेका चितवन राइनोज र कर्णाली याक्स क्रमस तेस्रो र चौथो स्थानमा छन् । यी दुवै टिमले अब समान २ खेल्न बाँकी छ । दुईमा एक खेल जितेमा दुवै टिमको अघि बढ्ने सम्भावना बलियो बन्नेछ । ४ खेल खेलेर ४ अंक जोडेको काठमाडौं पाँचौ स्थानमा छ । काठमाडौंले अब तीन खेल खेल्न बाँकी छ ।खेल्न् बाँकी तीन मध्ये कम्तिमा पनि दुई खेल जितेमा मात्र काठमाडौं अघिबढ्न सक्छ ।

लुम्बिनी, पोखरा र विराटनगर क्रमस छैठौं,सातौ र आठौं स्थानमा छन् । लुम्बिनी उपाधि होडबाट बाहिरि सकेको छ भने यी दुवै टिमको पनि प्लेअफ सम्भावना न्यून देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्