काठमाडौं, २७ मंसिर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज सेर्पालीले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य मोहन बस्नेतलाई सार्वजनिक रुपमा माफी माग्न सुझाव दिएका छन् । बस्नेतले सिन्धुपाल्चोक पुगेर माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाविरुद्ध दिएको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै शेर्पालीले बस्नेतलाई यस्तो सुझाव दिएका हुन् ।
वाईसीएल अध्यक्ष सेर्पालीले सार्वजनिक रुपमा माफी नमागे सांसद बस्नेतको अभिव्यक्तिविरुद्ध कानुनी उपचार खोज्नेसमेत चेतावनी दिएका छन् । साथै, सांसद बस्नेतको अभिव्यक्तिले कांग्रेस–एमाले गठबन्धन सरकार गुन्डागर्दीका लागि बनेको हो भन्ने पनि पुष्टि भएको अध्यक्ष शेर्पालीको भनाइ छ । अध्यक्ष शेर्पालीले सार्वजनिक रुपमा भौतिक आक्रमण गर्छु र मार्छु भन्ने बस्नेतविरुद्ध मुद्दा दर्ता गराउनुपर्ने बताए ।
‘म यिनीहरुलाई मार्छु भन्ने सांसदविरुद्ध मुद्दा दर्ता गरी कानुनी राज्यको अनुभूती गराउने कि ? कि अर्को पक्षले पनि उनकै शैली अपनाउने ? माननीय मोहन बस्नेतजी तपाईँको छाडा र अराजक बोली सुधार गर्ने मेसिन खरिद गर्ने हो कि ? बोली नियन्त्रण गर्ने ओखती लिने ? यहाँलाई हेक्का होस्, जस्तालाई तस्तै गर्न कुनै दिन–बारले सिन्धुपाल्चोकका युवाहरूलाई छेक्दैन,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष सेर्पालीले भने ।
गत आइतबार गृह जिल्ला सिन्धुपाल्चोकमा पुल उद्घाटन गर्न पुगेका बस्नेतलाई माओवादी केन्द्रका कार्यकर्ताले अवरोध गरेका थिए । सोही क्षेत्रबाट निर्वाचित सांसद माधव सापकोटालाई नबोलाई पुल उद्घाटन गर्न खोजिएपछि अवरोध भएको थियो । आगामी निर्वाचनमा सांसद सापकोटाको जमानत जफत गराउने हुङ्कारी भाषण गरेका बस्नेतले चुरीफुरीगरे रुखमुनि गर्धन पुर्याईदिने चेतावनी दिएका थिए । ‘चाहे अग्नि होस्, चाहे त्यही सुवोध होस् । हामीसँग को लड्ने, को भिड्ने ? चुरीफुरी धेरै गर्यो भने तिघ्रा र गर्दनमुनि बनाइदिन्छु,’– बस्नेतको अभिव्यक्ति थियो ।