Logo

म्याद थपका लागि सातौंपटक रवि लामिछानेलाई अदालत उपस्थित गराइयो



काठमाडौं, मंसिर २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका सातौँ पटक कास्की जिल्ला अदालत उपस्थित गराएको छ ।

कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा उनीसहित अन्य तीन जनालाई पनि आज अदालतमा उपस्थित गराएको छ ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिएको छ । प्रहरीले आज अदालत खुल्नासाथ सातौँ पटक म्याद थपका लागि अदालत उपस्थित गराएको हो ।

रविमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ । अनुसन्धान अधिकारीलाई सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ ।

त्यस्तै पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जिवी राईका साझेदार रामबहादुर खनाल र जिवीसँग जोडिएकी लिला पछाइलाई पनि आज अदालतमा उपस्थित गराइएको छ । लामिछानेको यसअघि कास्की, रूपन्देही, काठमाडौं, चितवनमा बयान लिइएको थियो।



प्रतिक्रिया दिनुहोस्