काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम गरिरहेको र सबै जनता सन्तुष्ट रहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले काठमाडौं र सहरबजारमा उफ्रिने दुई÷चार जनाबाहेक सबै जनता वर्तमान सरकारको कामकारबाहीबाट खुसी रहेको बताएका हुन् ।
वर्तमान सरकारले डेलिभरी र सुशासन दिन नसकेको बारेमा उठेको प्रश्नमा जवाफ दिँदै उनले प्रतिप्रश्न गरे, ‘जनता को दुःखी छ ? तपाईँले को दुःखी भएको पाउनु भयो ? काठमाडौंमा उफ्रिने दुई/चार जना मान्छेबाहेक गाउँ–गाउँमा गएर जनतालाई सोध्नु भएको छ ? को दुःखी छ ?’
साथै, देशको अर्थतन्त्र सुधारोन्मुख रहेको पनि उनले बताए । मनमोहन नेतृत्वको सरकारको पालादेखि बिग्रिदै गएको देशको अर्थतन्त्र बर्तमान सरकारले सुधारको कोशिस गरिरहेको उनको दाबी छ ।
साथै, पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको नेतृत्व गर्दा नेपालमा ठूला–ठूला भ्रष्टाचार भएको उनले बताए । नेता घिमिरेले प्रचण्डनिकटका नेताहरु नै ठूला–ठूला सुनकाण्डमा मुछिएको र क्यान्टोनमेन्ट घोटलामा प्रचण्ड आफैं जोडिएकाले सुशासनका ठूला कुरा गर्न नसुहाउने बताए ।