काठमाडौं, २७ मंसिर । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सूर्यास्तदेखि सूर्योदयसम्मको अवधिमा रवि लामिछानेलाई ठाउँसारी गरिनु मानवअधिकारको विपरीत रहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले व्यक्ति भागेर जाने, उम्किने अवस्था छैन र तत्कालै नियन्त्रणमा नलिँदा अर्को अपराध हुने सम्भावना छैन भने सूर्यास्तदेखि सूर्योदयसम्मको अवधिमा गिरफ्तार र ठाउँसारी गर्न नहुने बताएका हुन् । उनले सामान्य अवस्थामा बाहेक चितवनबाट लामिछानेलाई पोखरा लगिएको हो भने त्यो मानव अधिकारको विरुद्धमा हुने बताए ।
‘रवि लामिछानेको यो विषय चर्चामा छ । नेपाल प्रहरीले निकालेको विज्ञप्ति हेर्ने हो भने असामान्य अवस्थाको कारणले हामीले उहाँलाई चितवनबाट पोखरा सार्नुपरेको हो भन्ने स्टेटमेन्ट आएको छ । त्यहाँ नारबाजी भयो, ढुङ्गा हानाहान भयो र उहाँलाई त्यहाँ राखिरहँदा शान्ति सुरक्षाको अवस्था जटिल बन्ने भएकार कारणले गर्दा हामीले उहाँलाई स्थानान्तरण गरेर लगेका हौं भन्ने नेपाल प्रहरीको भनाइ छ ।’ उनले भने, ‘यता रवि लामिछानेजीको पार्टी, प्रमुख प्रतिपक्षी दल र अन्य पार्टीका नेताहरुले यो मानवअधिकारको विषयसँग जोडेर हेर्नुभएको छ । यो हेर्दाखेरी चितवनमा केही घटनाहरु भएको पनि सार्वजनिक माध्यममा आएका नै हुन् । साँच्चै शान्ति सुरक्षाको अवस्था प्रतिकूल हुने अवस्था थियो र शान्ति सुरक्षा कायम राखिराख्नका लागि उहाँलाई लगिएको हो भने त्यसलाई एकदमै मानव अधिकार उल्लङ्घनको विषयका रुपमा लिन हुँदैन । तर, सामान्य अवस्थामा एक ठाउँबाट अर्को ठाउँमा राति सार्ने काम हामीले मानिआएको मानवअधिकारप्रतिको सम्मानको विपरीतको कार्य हो ।’ File Photo/RN